ट्रेन्डिङ

वीरगन्जमा दीपावलीको तयारी गर्दागर्दै करेन्ट लागेर एक किशोरको मृत्यु

वीरगन्ज । तिहारको उल्लासमय वातावरणमा घरमा झिलिमिली बत्ती (झालरबत्ती) जडान गर्ने क्रममा करेन्ट लागी वीरगन्जका एक १७ वर्षीय किशोरको मृत्यु भएको छ।

शनिबार साँझ, धनतेरसको दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १, छपकैया निवासी लालु साह तेलीका छोरा पीयूष साह आफ्नै एकतले घरमा बत्ती लगाउँदै गर्दा करेन्ट लागेर मृत्यु भएका थिए।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार साँझ करिब ६ बजेको समयमा झालर बत्तीको तारमा अचानक विद्युत् प्रवाह हुँदा पीयूषलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनी तत्काल अचेत भए।

अस्पताल पुर्‍याउँदागर्दै निधन स्थानीयवासीले तत्कालै उद्धार गरी उनलाई नारायणी अस्पताल पुर्‍याए। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उनको निधन भएको प्रहरी निरीक्षक चौलागाईंले पुष्टि गरे।

मृतक पीयूष साह परिवारका एक्ला छोरा थिए। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गर्दै घर वरपरको विद्युत् जडानको निरीक्षण गरेको छ। साथै, तिहारको समयमा विद्युतीय उपकरणको प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सुरक्षात्मक मापदण्ड अनिवार्य पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै