ट्रेन्डिङ

सप्तरीमा पुजारीको गोली हानी हत्या, सीमावर्ती क्षेत्रमा कडा निगरानी

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ।

त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहलाई आज बिहान करिब २ बजे मन्दिर नजिकै बनाएको कुटीबाट बाहिर निकालेर पिठ्युमा गोली प्रहार गरिएको परिवारका सदस्य रामसुन्दर साहले बताएका छन्।

मन्दिर परिसरमा एक्लै बस्दै आएका साहको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

गोली चलेको केही समयमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीलाई खबर गरेका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट संयुक्त टोली पुगेर घटनास्थलमा अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिए।

प्रहरीका अनुसार घटनास्थलबाट दुईवटा गोलीका खोका बरामद गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

एसपी केसीका अनुसार अज्ञात समूहको पहिचान र पक्राउका लागि सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा निगरानी र चेकजाँच कडा पारिएको छ। स्थानीयबासी भने धार्मिकस्थलमै पुजारीको हत्या भएको घटनाले त्रसित बनेका छन्।

यस घटनासँग सम्बन्धित थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै