वीरगन्ज । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी केन्द्रीय कमिटी बैठकमा १६ पृष्ठ लामो लिखित दस्ताबेज पेश गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् ।
‘आजको संकट र पार्टी पुनर्गठन’ नाम दिइएको उक्त दस्ताबेजमा भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्ष निकाल्दै जेनजी आन्दोलनको निर्मम समीक्षा गरेका छन् ।
भट्टराईले भदौ २३ र २४ गतेको घटनाको दोष ‘देशी–विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र’लाई मात्र दिएर एमाले उम्किन नमिल्नेमा जोड दिएका छन् । उनले सरकारमा रहँदा ‘राज्य र नागरिकबीचको दूरीमा गहिरो खाडल’ भएको र जनताको आक्रोशलाई विवेकपूर्ण हिसाबले सुन्न नसक्नु एमालेको कमजोरी रहेको स्वीकार गरेका छन् ।
संकटबाट पार पाउन ‘बहुआयमिक पुनर्गठन’लाई पहिलो शर्त मानेका भट्टराईले अध्यक्ष ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्न आग्रह गर्दै दुई विकल्प सुझाएका छन् ।
१. तत्कालै वरिष्ठ नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने।
२. अध्यक्ष ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने, तर महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने।
उनले दुई कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधानलाई पुनः स्थापित गर्नुपर्नेमा जोड दिँदै ओलीलाई सक्रिय राजनीतिबाट अलग रहेर राष्ट्रिय एकताको नेताको भूमिका खेल्न आग्रह गरेका छन् ।
भट्टराईले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छन् । यद्यपि, उनले संसद् पुनर्स्थापनाको मागले अहिलेको द्वन्द्वलाई झन् चर्काउन सक्ने प्रश्न उठाउँदै तोकिएको समयमा चुनाव हुन नसके मात्र पुनर्स्थापनाको न्यायिक परीक्षण गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
दस्तावेजमा युवाका लागि पार्टीमा २५ प्रतिशत ग्यारेन्टी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतालाई सम्मानजनक हैसियत मा पुनःस्थापित गर्नुपर्ने र भदौ २४ को क्षतिको पुनर्निर्माणका लागि ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ चलाउनुपर्ने लगायतका मागहरू पनि समेटिएका छन्।