वीरगन्ज । नेपाली सेनाले गत भदौ २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा भीआईपीसहित सयौँ व्यक्तिहरूको उद्धार गरेको र विनाशकारी घटनालाई छोटो समयमै नियन्त्रणमा लिएको जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सेनाले दिएको विवरणअनुसार, उच्च जोखिममा रहेका ६१ जना भीआईपी तथा उनीहरूका परिवारका सदस्यहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको थियो। यसैगरी, आन्दोलनमा फसेका २३ जना नेपाल प्रहरीका कर्मचारीहरूको पनि हेलिकोप्टरबाटै उद्धार गरिएको थियो।
हवाई उद्धारबाहेक, जमिनबाट पनि विभिन्न स्थानमा फसेका थप १२९ जना सर्वसाधारणलाई सेनाले सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।
सेनाले आन्दोलनका कारण भएको क्षतिको विस्तृत विवरण पनि सार्वजनिक गरेको छ। सेनाको तथ्याङ्क अनुसार, देशभर कुल ६८८ वटा सरकारी कार्यालयहरू, २५९ जनाका निजी निवासहरू, १२८ वटा व्यापारिक प्रतिष्ठानहरू र १९८ वटा राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए। यसबाहेक, कानुन कार्यान्वयनमा खटिएको नेपाल प्रहरीका ३०७ कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको थियो।
सेनाले भदौ २४ गते रातिबाटै हस्तक्षेप सुरु गरेको र त्यसपछि ६ देखि ८ घण्टाको छोटो अवधिभित्र नै देशैभरको स्थिति नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ।