नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै हो ।
ब्रह्माको अर्थ तपस्या अर्थात् कठोर तप गर्ने भन्ने बुझिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो ।
ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ।
नवरात्र सुरु भएको पहिलो दिन दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।
घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।
यसको नौ दिन भने घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । नवरात्रका अवसरमा शक्तिपीठ गई देवीको पूजाआराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।