वीरगन्ज । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
सभापति देउवाले बैठकलाई सम्बोधन गरेलगत्तै आजको केन्द्रीय समिति बैठक स्थगित भएको छ। महामन्त्री शर्माका अनुसार पर्सि बिहीबार बस्ने केन्द्रीय समिति बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले नै गर्नेछन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन्। उनी पत्नी आरजु राणा देउवासहित पार्टी कार्यालय सानेपा पुगेका थिए।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।
यसैगरी, सभापति देउवाले सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनको वातावरणमाथि पनि प्रश्न उठाएका छन्। उनले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको भन्दै भने, ‘स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।