वीरगन्ज । राजस्व अनुसन्धान कार्यालय बारा पथलैयाले वीरगन्जमा सोमबार करिब चार घन्टा छापामारी ठूलो परिमाणमा सुन बरामद गरेको छ ।
माइस्थानस्थित अभिषेक सर्राफको घरमा हिजो छापा मारेर ठूलो परिमाणमा अवैध सुन र चाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
मंगलबार विहान सशस्त्र प्रहरीले एक विज्ञप्ति जारी गर्दै अभिषेक सर्राफको घरबाट २ किलो बढी सुन बरामद भएको जानकारी दिएको छ ।
संयुक्त टोलीले नियन्त्रणमा लिएको धातु सुनचाँदी व्यवसायी संघ पर्सामा लगि मापन गर्दा सुन २ हजार २५४.८६ ग्राम (करीब २.२५ किलो), चाँदी १० हजार ३५४.०७ ग्राम (करीब १०.३५ किलो), सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम बरामद गरिएको जनाइएको छ ।
साथै नगद नेपाली रुपैयाँ १ लाख ९ हजार तथा भारु ४१ हजार ६० बराबरको रकम फेला परेको सशस्त्र प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।
उनका अनुसार विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरमा छापामारी गरिएको थियो, त्यहीक्रममा ठूलो परिमाणमा सुन बरामद भएको हो ।
सर्राफको घरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले छापा मारेको थियो ।
बरामद गरिएका सबै वस्तु आवश्यक कारवाही र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कार्कीले जानकारी दिएका छन ।
बरामद अवैध सुनबारे सुक्ष्म अनुसन्धान सुरु गरिएकोले सबुतप्रमाणको आधारमा त्यही बमोजिम कडा कारबाही गरिने तयारी गरिएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।