ट्रेन्डिङ

जेनजी आन्दोलनका क्रममा भएका आगलागीमा पूर्वयोजनाको आशंका

वीरगन्ज । सेप्टेम्बर ९ मा नेपालको राज्यसत्ताका प्रमुख संरचनाहरूमाथि भएको श्रृङ्खलाबद्ध आगजनीले देशलाई स्तब्ध बनाएको छ।

दिउँसोका केही घन्टाभित्रै ऐतिहासिक दरबार, सर्वोच्च अदालत, प्रमुख मन्त्रालय र प्रहरी कार्यालयसहित सयौँ सरकारी भवनहरू आगोले खरानी भए।

यो व्यापक विनाश सेप्टेम्बर ८ मा राजधानीमा भएको प्रदर्शनका क्रममा १९ जना भ्रष्टाचारविरोधी प्रदर्शनकारीको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएपछि भएको थियो। सुरुमा यसलाई १९ जनाको हत्यापछि आक्रोशित भीडले प्रतिशोधस्वरूप गरेको स्वतःस्फूर्त प्रतिक्रियाका रूपमा बुझिएको थियो।

तर, न्यूयोर्क टाइम्सको अनुसन्धानले यो घटना स्वतःस्फूर्त आक्रोश मात्र नभएको नयाँ तथ्य उजागर गरेको छ। दर्जनौं प्रत्यक्षदर्शी, सहभागी र आगजनी विशेषज्ञसँगको अन्तर्वार्ता र स्थलगत विश्लेषणका आधारमा, यति ठूलो र राष्ट्रव्यापी विनाश अभियान पूर्वयोजना बिना सम्भव नभएको निष्कर्ष निस्किएको छ।

वरिष्ठ आगलागी अनुसन्धानकर्ता रिचर्ड ह्यागरले ‘यति छोटो समयमा यति धेरै भवनमा आगो लाग्नु संगठनात्मक दक्षता बिना सम्भव नहुने’ बताएका छन्, जसका लागि कमसेकम ‘हप्तौंको योजना’ आवश्यक पर्छ।

आगजनीको यो मात्रा र आगोको तीव्रता हेर्दा ‘आगोको बाटो’ बनाउनका लागि विशेष प्रज्वलनशील पदार्थहरू (सोडियम वा म्याग्नेसियम जस्ता रसायनहरू) प्रयोग भएको हुनसक्ने शङ्का केन्द्रीय विधि विज्ञान प्रयोगशालाका शाखा प्रमुख पवन ढुङ्गानाले व्यक्त गरेका छन्। उनले ‘देशैभर यस्ता ठूला आगलागीहरू हेर्दा, यो पूर्वयोजनाबद्ध थियो भनेर शङ्का गर्न सकिने’ बताए।

घटनाको समयमा सेनालाई हस्तक्षेप नगर्न आदेश दिइएको चार जना प्रत्यक्ष स्रोतले बताएका छन्। विनाशको मात्रा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को एक तिहाइभन्दा बढी बराबर हुन सक्ने प्रारम्भिक अनुमान छ।

यस घटनापछि प्रधानमन्त्रीको राजीनामासँगै सरकार ढलेको छ। अन्तरिम सरकारले आगलागी र बल प्रयोगको छानबिन गर्न आयोग गठन गरे पनि, अनुसन्धानका लागि महत्त्वपूर्ण वैज्ञानिक प्रमाणहरू नष्ट भइसकेकाले सत्य पत्ता लाग्ने सम्भावना कम हुँदै गएको विज्ञहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै