वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिमा नयाँ मोड ल्याउने गरी एक साहसिक प्रस्ताव अघि सारेका छन्।
उनले संवाद र सहकार्यको नयाँ वातावरण सिर्जना गर्न तीन ठूला दलका वर्तमान शीर्ष नेताहरूलाई नै बिदाइ गर्नुपर्ने आह्वान गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत महामन्त्री थापाले भनेका छन्, ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं।’
निरन्तर पार्टीभित्र महाधिवेशन र नेतृत्व परिवर्तनको वकालत गर्दै आएका थापाले यो प्रस्ताव आफ्नो दलमा मात्र सीमित नभएको स्पष्ट पारेका छन्। उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूलाई पनि आफ्ना प्रमुख नेताहरूलाई अब बिदा दिन अनुरोध गर्नुपर्ने बताएका छन्।
‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ, अब नो मोर।’
उनले नेतृत्व परिवर्तन हुँदैमा सबै समस्या समाधान हुन्छ भन्ने नरहेको स्वीकार गर्दै, यदि आफूहरू पनि अनुपयुक्त ठहरिएमा तत्काल पद छाड्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।