वीरगन्ज । सुन तस्करीको एउटा बहुचर्चित प्रकरणमा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज पक्राउ गरेको छ।
१० पुस २०७९ मा दुबईबाट फ्लाई दुबईको विमानबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेसभित्र लुकाइएको ८ करोड ५५ लाख २८ हजार रुपैयाँभन्दा बढी मूल्यको सुन तस्करी प्रकरणमा महराको संलग्नता देखिएको हो।
हानसोङले ल्याएका ७३० थान भेपभित्र उक्त सुन लुकाइएको थियो। अनुसन्धानले उक्त सुन भन्सारका नायब सुब्बा रेवनत खड्कासमेतको मिलेमतोमा बेचिएको खुलासा गरेको थियो।
महरामाथि उक्त तस्करीको सुन छुटाउनका लागि भन्सार कार्यालयमा शक्ति र प्रभाव प्रयोग गरी दबाब दिएको आरोप लागेको थियो। यसअघि नै यो प्रकरणमा संलग्नताको आरोपमा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका छन्।
सीआईबीले महरा संलग्न रहेको उक्त सुन तस्करी फाइलमा केही दिनअघि मात्रै उनीसँग बयान लिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङ सँग कृष्णबहादुर महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्ड बाट पुष्टि भएपछि सीआईबीले पक्राउ गरेको हो।
यसअघि पनि अनुसन्धानको दायरामा तानिए पनि सत्ता र शक्तिको आडमा महराविरुद्धको अनुसन्धान फाइल अगाडि बढ्न सकेको थिएन।