वीरगन्ज । पर्सामा हैजा महामारी विरुद्धको खोप अभियान आजबाट सुरु भएको छ।
हैजाबाट बढी प्रभावित वीरगन्ज महानगरपालिका सहित पर्सा र बाराका २० पालिकामा खोप अभियान सञ्चालन गर्न लागिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई पहिलो खोप खुवाएर अभियानको थालनी गरिएको हो।
पर्साको १४ वटै पालिकामा १ लाख १६ हजार १ सय १८ घरधुरीका ६ लाख ५२ हजार १ सय २९ लक्षित जनसंख्यालाई खोप खुवाउने लक्ष्य राखिएको छ। त्यसका लागि ११७ स्वास्थ्य संस्था सहित १ हजार ९ सय ५१ खोप केन्द्र तय गरिएको छ। हरेक घरमा स्वयंसेवक पुगेर खोप खुवाउने कार्यक्रम छ।
स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार हालसम्म १ हजार ६ सय ८० जनामा हैजा तथा झाडापखालाका विरामी भेटिएका छन्।
यसैगरी बारामा २८ असोजदेखि खोप अभियान सञ्चालन गरिँदैछ। बाराको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।
अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ, रेडक्रस लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) ले मुखबाट लिने हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन’ (ओसीभी) उपलब्ध गराएको छ।
बारा–पर्साका लागि १० लाख १८ हजार १ सय डोज इयूभिकोल–एस भ्याक्सिन आएको छ। एक वर्ष उमेर माथिका १० लाख १८ हजार जनालाई खोप खुवाउने लक्ष्य राखिएको छ।
‘सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन सधैंका लागि हैजा विरुद्धको हतियार हो। पानी उमालेर वा क्लोरिन हालेर पिउने, बासी सडेगलेका फोहोर खाना नखाने, तरकारीहरू राम्ररी धोएर पकाएर खाने गर्दा हैजा लाग्दैन भनेर चिकित्सकहरुले बताएका छन् ।
खोप उच्च ज्वरो आएका व्यक्ति, संक्रमणको उपचार गराइरहेका व्यक्ति बाहेक सबैले सेवन गर्न मिल्छ। मधुमेह, रक्तचापका औषधि सेवन गरिरहेका विरामी, गर्भवती तथा सुत्केरीले समेत खोप लिन मिल्छ ।
६ भदौमा पहिलो पटक वीरगन्जको मुर्लीटोलका एकजना विरामीमा आरडिटी परीक्षणबाट हैजा संक्रमण पुष्टि भएको थियो।