जनकपुरधाम । नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको पदस्थापनसँगै मधेश प्रदेश प्रहरी प्रमुख परिवर्तन भएका छन्।
एआईजीमा बढुवा भएका उमाप्रसाद चतुर्वेदी यसअघि मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । उनी बढुवा भई हाल कार्य विभागमा पदस्थापन भएका छन्।
चतुर्वेदीको ठाउँमा गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियालाई मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएर सरुवा गरेको छ।
यसैगरी, सुदूरपश्चिमका प्रहरी प्रमुख डम्बर विक पनि बढुवा भई एआईजीको रूपमा प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन् भने उनको ठाउँमा ओमबहादुर रानालाई सुदूरपश्चिममा सरुवा गरिएको छ। अन्य एआईजीहरू सुशीलसिंह राठौर अपराध अनुसन्धान विभाग र हिमालयकुमार श्रेष्ठ प्रशासन विभागमा पदस्थापन भएका छन् ।