जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
नेपालको संविधानको व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले असोज २८ गते विश्वासको मतका लागि प्रदेश सभा सचिवालयलाई अनुरोध गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज जारी गरिएको पत्रमा उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गतेको मिति तोक्न मधेश प्रदेश सभा सचिवालयलाई आग्रह गरेका छन् ।
दुई ठूला सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले औपचारिक रूपमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहको सरकार अल्पमतमा परेको छ। एमाले र कांग्रेसले समर्थन फिर्ता लिएलगत्तै, ती दलहरू जनमत पार्टीसँग मिलेर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित बहुमतको दाबी पेश गरिसकेका छन्।
तर, बहुमत गुमेको र नयाँ गठबन्धन बनेको यो विषम परिस्थितिमा पनि मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो पद जोगाउन अन्तिम संवैधानिक प्रयास गर्ने अडान लिएका छन् ।
यद्यपि, प्रदेश सभामा बहुमत (५४ सदस्य) गुमाइसकेको र विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेकाले मुख्यमन्त्री सिंहले असोज २८ गते विश्वासको मत पाउने सम्भावना भने निकै कम रहेको छ ।
