वीरगन्ज । भाद्र २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्राप्त भएको एउटा महत्त्वपूर्ण जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको छ।
मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित चार जनाले दिएको ‘मानवता विरुद्ध तथा राज्य विरुद्धको कसूर’ सम्बन्धी जाहेरी आयोगको क्षेत्राधिकार भित्र नपर्ने ठहर गर्दै फिर्ता गरिएको हो। आयोगले २०८२ असोज २३ गतेको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी गराएको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माका अनुसार नेपाल सरकारले आयोगलाई घटनाको यथार्थ छानबिन गर्ने, कारण पत्ता लगाउने र कारबाहीका लागि राय सुझाव दिने कार्यादेश मात्र दिएको छ।
‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिए अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्र भित्र पर्दैन,’ विज्ञप्तिमा भनिएको छ।
आयोगले फौजदारी कसूरमा संलग्न जो कोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न नेपाल सरकारका संयन्त्रहरूलाई कानुनले अख्तियारी दिएको स्पष्ट पारेको छ। साथै, फौजदारी अनुसन्धानका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरासमेत दोहोर्याइएको छ।
जिल्ला प्रहरी परिसर भद्रकालीले उक्त जाहेरी आयोगको कार्यक्षेत्र भित्र पर्ने भन्दै आयोगमा पठाएको थियो। तर, आयोगले आफ्नो क्षेत्राधिकार प्रष्ट पार्दै सक्कलै जाहेरी कागजातहरू जिल्ला प्रहरी परिसर काठमाडौंमै फिर्ता पठाउने निर्णय गरेको छ।

