वीरगन्ज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र गैरकानूनी भएको भन्दै यसको तत्काल पुनर्स्थापनाको माग गरेका छन्।
भक्तपुर एमालेले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रको पुनर्बहालीका लागि प्रतिनिधि सभाको पुनर्स्थापना अनिवार्य रहेको बताएका हुन्। ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ। यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन ? पर्खनुपर्यो फागुन २१ गते ? पर्खनु परेको छैन,’ उनले जोड दिए।
ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर सडकमा आउने विश्वास व्यक्त गरे।
ओलीले जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र त्यसको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन्।
‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने,’ उनले भने, ‘यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन।’
जेनजी विद्रोहका क्रममा आयोगका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति एमाले नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। ओलीले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै भने, ‘एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन संभव छ ?’ उनले नैतिकताको आधारमा कार्कीले राजीनामा दिनुपर्ने बताए।