वीरगन्ज । जेनजीको नाममा विभिन्न समूहले गर्न सक्ने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
विशेषगरी राजधानीको मुख्य प्रदर्शनस्थल माइतीघर मण्डला क्षेत्रमा प्रहरी तैनाथी ह्वात्तै बढाइएको छ।
माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरी कसैलाई पनि भेला हुन वा प्रदर्शन गर्न दिइएको छैन। आफ्ना मागहरू पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका डा. निकोलस भुसालसहित केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो साँझ एक सूचना जारी गर्दै अनौपचारिक समूहहरूको गतिविधिमा अवाञ्छित तत्त्वहरूको घुसपैठ भई हुलहुज्जत, सरकारी सम्पत्तिको तोडफोड जस्ता कानुन विपरीतका कार्यहरू हुन सक्ने जोखिमप्रति सचेत गराएको थियो। प्रशासनले गत भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटनाहरू पुनः दोहोरिन सक्ने भन्दै प्रदर्शनकारीहरू स्वयं पनि जोखिममा पर्न सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।
यसअघि, गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकका सबै चासो र मागलाई वार्ता एवम् छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। मन्त्रालयले धर्ना–जुलुस जस्ता कार्यक्रम गर्नुअघि नै संवादका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेको थियो।
गृह मन्त्रालयको यो विज्ञप्ति सार्वजनिक भएपश्चात् भने केही आन्दोलनरत समूहहरूले आजका लागि घोषणा गरेका कार्यक्रमहरू फिर्ता लिएको बताइएको छ। सुरक्षा निकायले स्थिति थप बिग्रन नदिनका लागि मुख्य क्षेत्रहरूमा उच्च निगरानी कायम राखेको छ।