सर्लाही । जिल्ला प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न तीन जना मानिसलाई नियन्त्रणमा लिएको छ।
असोज २१ गते बिहान करिब ४:४५ बजे लालबन्दी नगरपालिका वडा नम्बर १, नवलपुर टोलस्थित भित्री सडक खण्डमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी नायव निरीक्षक भरत साहको कमाण्डमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले सो स्थानमा सरप्राइज चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा BR 06 CV 9985 नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जना व्यक्तिलाई रोकेर जाँच गर्दा उनीहरूबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो।
प्रहरीले १०० मिलिलिटरको ११७ पिस बोतल लागूऔषध फेला पारी तीनै जनालाई तत्काल नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. ०४, त्रिभुवन नगर बस्ने १८ वर्षीय प्रिन्स कुमार यादव र भारत, बिहार राज्य, सीतामढी जिल्ला, सोनबर्सा टोल बस्ने २० वर्षीय कृष्ण कुमार यादव तथा १७ वर्षीय किसन कुमार साह रहेका छन्। उनीहरू तीनै जनालाई उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय, लालबन्दीको जिम्मा लगाइएको छ।
हाल, इलाका प्रहरी कार्यालय लालबन्दीले लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाउन सम्मानित अदालतबाट सात दिनको म्याद थप गराएको छ। पक्राउ परेका मानिसहरूमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।