ट्रेन्डिङ

मधेशमा मुख्यमन्त्री फेरिने निश्चित : कांग्रेस, एमाले र जनमतले ५८ सांसदसहित पेश गरे दाबी

जनकपुरधाम । मधेश प्रदेशले नयाँ मुख्यमन्त्री पाउने निश्चित भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टीसहितका दलहरूले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

यी तीन प्रमुख दलले प्रदेश प्रमुखसमक्ष ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित बहुमतको दाबी पेश गरेका हुन्।
आजै मात्र नेकपा एमालेले वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। यसअघि नै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो।

दुई ठूला दलको समर्थन फिर्तासँगै मुख्यमन्त्री सिंहले प्रदेश सभामा बहुमत गुमाएका छन् र उनको सरकार अल्पमतमा परेको छ।

यद्यपि, मुख्यमन्त्री सतिश कुमार सिंह भने आफ्नो पद जोगाउन अन्तिम प्रयास गरिरहेका छन्। उनले असोज २८ गते प्रदेश सभाबाट विश्वासको मत लिने अडान लिएका छन्। बहुमत गुमाइसकेको अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना भने न्यून छ।

कांग्रेस, एमाले र जनमतको गठबन्धनले बहुमत पुर्‍याएर दाबी पेश गरिसकेपछि प्रदेश प्रमुखले अबको केही दिनभित्रै नयाँ सरकार गठनका लागि पहल गर्ने अपेक्षा गरिएको छ। मधेश प्रदेशमा अब कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने निश्चितप्रायः भएको छ। बहुमतको सरकार गठनका लागि ५४ प्रदेश सभा सदस्य आवश्यक हुन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै