वीरगन्ज । वीरगन्जको भानु चोकस्थित होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा मृत भेटिएका भारतीय बुबा–छोराको शव प्रहरीले आज बिहान निकालेर नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको छ। यो रहस्यमय घटनाले वीरगन्जमा गहिरो संशय पैदा गरेको छ । के यो दोहोरो आत्महत्या हो, वा हत्यापछि गरिएको आत्महत्या भन्ने शंका उब्जिएको छ ।
भारत, कोलकाता, त्रिपुराका ६७ वर्षीय सजल आचार्जी र उनका २४ वर्षीय छोरा सागर आचार्जी मंगलबार राति कोठाभित्र मृत अवस्थामा फेला परेका थिए।
असोज १९ गतेदेखि होटलमा बसेका उनीहरू बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि कर्मचारीहरू बोलाउन गएका थिए। भित्रबाट बन्द ढोका नखुलेपछि भेन्टिलेटरबाट हेर्दा उनीहरू मृत अवस्थामा देखिए। मंगलबार राति ढोका नफोरेको प्रहरीले आज बिहान करिब ७ः३० बजे कोठाको लक ताडेर प्रवेश गर्दा भित्रको दृश्य झनै भयावह थियो ।
बुबा सजल आचार्जी ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए। उनको घाँटीमा नील डाम देखिएको थियो । छोरा सागर आचार्जी भने सिलिङ पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।
प्रहरी उच्च स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानले यो घटनालाई आत्महत्यासँग जोडिएको हुनसक्ने सङ्केत गरेको छ। स्रोतका अनुसार, बुबा–छोरा कुनै रोगको उपचारका लागि काठमाडौं पुगेका थिए, तर आर्थिक अभावका कारण उपचार सम्भव नभएपछि निराश भएर घर फर्कँदै गर्दा वीरगन्जमा बास बसेका थिए।
सोही निराशाको क्रममा छोराले बुबाको हत्या गरेर, आफू पनि झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ।
यसअघि नै प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताइसकेको छ । प्रहरीले घटनाको विषयमा गम्भीरतापूर्वक अनुसन्धान जारी राखेको छ।
बुबाको घाँटीमा देखिएको नील डामले यो हत्या हो वा आत्महत्यामा परिणत भएको हत्या भन्ने प्रश्नले अनुसन्धानलाई थप रहस्यमय बनाएको छ।