वीरगन्ज । नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई पक्राउ गराउन काठमाडौंका मेयर बालेन शाहको योजनामा हामी नेपालका संयोजक सुधन गुरुङ सक्रिय भएको गम्भीर आरोप लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले मेयर बालेन शाहकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइएको दाबी गरे।
बस्नेतले भने, ‘हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाइन्छ र प्रधानमन्त्री तथा गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन्।’ उनले सुधन गुरुङलाई विदेशीको एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाइएको दाबी गरे।
बस्नेतले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन हुनुपर्ने माग राखे।
नेता बस्नेतले फूलपातीको दिनदेखि नै आफूलाई पक्राउ गर्ने प्रयास भइरहेको बताए। उनले थपे, ‘हुँदै नभएको मुद्दा सिर्जना गरेर, पात्रहरू खडा गरेर, गिरफ्तार गर्ने प्रयास भयो, अदालतले सरकारको त्यो षड्यन्त्रलाई स्वीकार गरेन। हिजो मेराविरुद्ध पक्राउ पुर्जी जारी गर्न दलबलसहित गएको प्रहरीलाई अदालतले फिर्ता गरिदियो ।’
उनले आफ्नो आवाज थुन्नका लागि षड्यन्त्र गरिएको बताए। पाँच महिनाअघि प्रमाण नपुग्ने भनेर तामेलीमा राखिएको मुद्दा अहिले दबाबमा खोलिएको भन्दै उनले आजै मात्रै पनि सोही विषयमा बयान दिएर आएको जानकारी दिए।
अन्तमा, उनले सरकारलाई चुनौती दिँदै भने, ‘म भाग्न चीन भारत कहीँ गएको छैन। यही बस्छु, गुन्डुमै बस्छु। मलाई समातेर देखाउनुस्। लोकतन्त्र, राष्ट्रियता र विधिको शासनको लागि एक पटक होइन, सयौँ पटक जेल जान तयार छु।