ट्रेन्डिङ

वीरगन्ज–२० का वडाध्यक्ष परागद्वारा एमाले पार्टी परित्याग

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह ‘पराग’ले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्।

जेनजी आन्दोलनमा सक्रिय रहेका परागले बुधबार वीरगन्जको घडिअर्वा पोखरी पार्कमा आयोजित युवाहरूको भेलामा औपचारिक रूपमा राजीनामाको घोषणा गरेका हुन्।

यसअघि परागले जेनजी आन्दोलनका क्रममा एमालेको वीरगन्ज महानगर उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। बुधबारको भेलामा बोल्दै उनले आफूले असोज ६ गते नै साधारण सदस्यबाट राजीनामा दिइसकेको भए पनि मिडियामा नआएकोले आज सार्वजनिक गरेको जानकारी दिए।

पार्टी परित्यागको कारण स्पष्ट पार्दै परागले भने, ‘सुशासन र परिवर्तनको चाहना राखेका नागरिक र जेनजी पुस्ताको माग भए पनि नेकपा एमालेको नेतृत्व सुध्रिने संकेत नदेखेपछि त्यस्तो पार्टीमा आफू बस्न नसक्ने निष्कर्षमा पुगेर पार्टी छोडेको हुँ।’ उनले अब आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहने र जेनजी पुस्ताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

यता, नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने वडाध्यक्ष परागको राजीनामाबारे अनभिज्ञता प्रकट गरेका छन्।

उनले भने, ‘लिखित रूपमा उहाँले राजीनामा दिनु भएको छैन। यसअघि पनि उहाँले सोसल मिडियाबाट महानगर उपाध्यक्षबाट राजीनामा दिएको सुनिएको थियो। आधिकारिक रूपमा पार्टीमा लिखित राजीनामा आयो भने हामी त्यसबारे केही सोच्छौं ।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै