वीरगन्ज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पाँच खेलको टी–२०आई क्रिकेट शृंखला ३–२ ले जितेर ऐतिहासिक सफलता हात पारेको छ।
बुधबार बिहान भएको पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्यो। नेपालको जितमा रूबी पोदारले सर्वाधिक २६ रनको योगदान दिइन् भने पूजा महतोले २३ रन जोडिन्। कप्तान रूविना क्षेत्री १५ रनमा अविजित रहँदै टोलीलाई जितसम्म डोहोर्याइन्।
बलिङतर्फ, मलेसियाका लागि नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १–१ विकेट लिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन्।
नेपालको बलियो बलिङ प्रदर्शनमा कविता कुँवरले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिइन् भने राजमती ऐरीले पनि महत्वपूर्ण ३ विकेट आफ्नो नाममा गरिन्।