फाइल तस्बिर
वीरगन्ज । सर्लाहीको मलङ्गवा नगरपालिका–५, भाडसरस्थित लखनदेही खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
मृत्यु हुनेमा भाडसरकै अन्दाजी १८ वर्षीय ओम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी बिनोद ठाकुरका छोरा हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, आज बिहान करिब ११ः३० बजेको समयमा चार जना युवा लखनदेही खोलाको बाँध नजिक नुहाउन गएका थिए। नुहाउने क्रममा खोलाले चारै जनालाई बगाएकोमा तीन जना सकुशल निस्किएका थिए भने ओम ठाकुरलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।
बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भाडसरबाट प्रहरी सहायक निरीक्षक जलन्धर प्रसाद यादवको कमान्डमा खटिएको प्रहरी टोलीले खोजी कार्य सुरु गरेको थियो।
करिब एक घण्टाको खोजीपछि दिउँसो १ बजेतिर ठाकुरलाई सोही स्थानमा पानीमाथि तैरिएको अवस्थामा फेला पारिएको थियो।
उनलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएकोमा दिउँसो २ः३० बजेतिर अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए।