वीरगन्ज । विभिन्न राजनीतिक दलमा आबद्ध २८ जना राजनीतिकर्मीहरूको समूहले हालै जेनजी युवाहरूले आयोजना गरेको आन्दोलनलाई उच्च सम्मान गर्दै दोस्रो र तेस्रो तहका नेताहरूलाई आ–आफ्नो पार्टी पुनर्गठनको पहल लिन आह्वान गरेको छ।
अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, नवीन तिवारी, करुणा पराजुलीसहितका २८ जनाले संयुक्त आह्वान जारी गर्दै लामो समयदेखि नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन सम्भव नहुने स्पष्ट पारेका छन्।
राजनीतिकर्मीहरूले जेनजीको आन्दोलन राजनीतिमा संस्थागत भएको भ्रष्टाचार विरुद्धको आवाज भएको बताएका छन्। राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले नागरिकको आवाज नसुनेपछि विद्रोह अनिवार्य भएको र जेनजीले समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएको उनीहरूको बुझाइ छ।
उनीहरूले जेनजीको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको आक्रमण र नरसंहारमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, ‘पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको छ।’
उक्त समूहले जेनजी आन्दोलनको माग स्पष्ट रहेको बताउँदै नेपाली जनता भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी राजनीति चाहन्छन् भन्ने सन्देश नेतृत्वले अझै नसुनेको गुनासो गरेको छ।
आह्वानमा भनिएको छ, ‘मुख्य राजनीतिक दलका नेताहरूले विभिन्न बहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन्। आन्दोलनको सन्देशलाई नसुन्नु घातक हुनेछ र यस्तो बहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्ने छ।’
मुलुकलाई दुर्घटनाबाट रोक्नका लागि सबै राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेता तथा जिम्मेवार सदस्यहरूले नेतृत्व हस्तान्तरण–पुस्तान्तरणलाई सहज बनाउँदै तत्काल पार्टी पुनर्गठनको काममा लाग्न आह्वान गरिएको छ।
