वीरगन्ज । सरकारले हालैको बाढीपहिरोबाट घरबार गुमाएका पीडितहरूलाई तत्काल राहत र बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले यस्तो जानकारी दिएको हो।
बैठकले बाढीपहिरोबाट घर पूर्ण रूपमा क्षति भएका प्रभावितहरूलाई तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ।
घर भत्केका पीडितहरूलाई अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट कुल ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। यो रकम दुई चरणमा वितरण गरिनेछ । पहिलो चरणमा तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
बाँकी २५ हजार रुपैयाँ चाहिँ पीडितले एक तहको घरको संरचना बनाएपछि मापदण्डअनुसार उपलब्ध गराइने निर्णय बैठकले गरेको छ।
सरकारले बाढीपहिरो प्रभावितहरूलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने जनाएको छ।