जनकपुर। मधेश सरकारले तीन करोडको लागतमा तीनवटा मात्रै शौचालय निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।
प्रदेशको राजधानी सौन्दर्यीकरण कार्यक्रम अन्र्तगत जनकपुरमा सरकारले तीनवटा अत्याधुनिक शौचालय निर्माण गर्ने योजना अगाडि सारेको हो ।
तीन करोडको लागतमा उक्त शौचालयहरु निर्माण गर्ने योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानको छनौट गर्ने कार्यसमेत अगाडि बढाइसकिएको छ ।
जसका लागि अहिलेसम्म जनकपुरधामका बसपार्क, राम मन्दिरको दक्षिणी भाग र ‘कभर्डहँल’ तथा मणिपालकोबिचमा जग्गा छनौट गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
जानकी मन्दिर दर्शन गर्न तथा विभिन्न धार्मिक एवम् साँस्कृतिक कार्यक्रममा सहभागी हुन आउने भक्तजनलगायत सर्वसाधारणलाई जनकपुरमा सुविधा सम्पन्न शौचालय नहुँदा सास्ती व्यहोर्नु परेको जन गुनासाहरु थिए ।
उक्त जनगुनासालाई सम्बोधन गर्ने हेतुले प्रदेश सरकारले तीनवटा शौचालय निर्माण गर्ने योजना अगाडि सारेको मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बताए ।
उनका अनुसार प्रदेश सरकारको प्रदेश राजधानी सौन्दर्यीकरण अन्तर्गत नै शौचालय तयार गर्न लागिएको हो । उनले भने, ‘अन्तर्राष्ट्रिय स्टयान्ड्र्ड अनुसार शौचालय निर्माण गरिन्छ, त्यसमा बढी शौचालय निर्माण गरिएको हुन्छ । सब अत्याधुनिक हुन्छ, जुन देखेर पनि पर्यटकहरु ‘वाहवाही’ गर्छन् । त्यस्तो किसिमको अत्याधुनिक शौचालय बनाउन लागिएको हो ।’
यस्तै जनकपुरधाममै साँस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि जनकपुरधामको तिरहुतिया गाछीमा जग्गा छनौट गरिएको जनाइएको छ ।
खुल्ला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले ४० लाख रूपैयाँ विनियोजन गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।