ट्रेन्डिङ

ओली र लेखकलाई पक्राउ गर्न जेनजीको दबाब : प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूसँग छलफल

वीरगन्ज । जेनजी युवा अगुवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गर्न दबाब बढाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन्।

सोमबार रातिदेखि मङ्गलबार बिहान २ बजेसम्म बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।

जेनजी युवाहरूले ओली र लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी लिएर गएका थिए, तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन।

यस विषयमा गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राखे पनि प्रहरी अधिकारीहरूले आपत्ति जनाएका थिए। स्रोतका अनुसार प्रहरी अधिकारीहरूले ‘आज पूर्वप्रधानमन्त्रीविरुद्ध आएको जाहेरी भोलि बालेनविरुद्ध पनि आउनसक्ने र त्यसले परिस्थिति थप भड्किनेतर्फ’ सचेत गराएका थिए।

प्रधानमन्त्री समेत सहभागि छलफलमा प्रहरी महानिरीक्षक खापुङले यो संवेदनशील विषयमा केन्द्रीय सुरक्षा समितिबाट निर्णय गरेर लिखित निर्देशन प्राप्त भए सोहीअनुसार ओली र लेखकविरुद्ध उजुरी दर्ता गरी अघि बढ्न तयार रहेको आशय व्यक्त गरेका थिए।

सुरक्षा अधिकारीहरूले जेनजी आन्दोलनका घटनाबारे न्यायिक छानबिन भइरहेका बेला उजुरी लिँदा र पक्राउ गर्दा मुठभेड हुनसक्ने तथा लुटिएका हतियार सबै फिर्ता नभइसकेकाले सुरक्षा संवेदनशीलता बढेको धारणा राखेका थिए।

छलफलको अन्त्यमा प्रधानमन्त्री कार्कीले भने, ‘दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनैपर्छ,’ भन्दै अधिकारीहरूलाई समग्र विषयमा अझ मसिनो गरी छलफल र विश्लेषण गर्न निर्देशन दिएकी थिइन्।

जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरिसकेको छ। सो समितिको सिफारिसअनुसार ओली र लेखकसहित तत्कालीन गृह सचिव तथा सीडीओलाई सरकारको अनुमतिबेगर काठमाडौँ उपत्यका बाहिर जान रोक लगाइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की आज पनि थप परामर्श र छलफलमा रहेकी छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै