वीरगन्ज । जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आयोगको मुख्यालय, टंगाल अगाडिको सडकमा प्रदर्शन गरेको छ।
आज बिहान प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो। प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख राईले पद छाड्नुपर्ने तर्क गरे।
जेनजी मुभमेन्ट अलायन्सले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै आयोगमा एक दबाब पत्र (निवेदन) समेत दर्ता गराएको छ। भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार र दण्डहीनताको अन्त्य पूरा गर्न आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको अलायन्सको भनाइ छ।
अलायन्सले हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको जिकिर गर्दै दबाब पत्रमा राई र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइ विना गरेकोमा निष्पक्षतामा गम्भीर प्रश्न उठेको उल्लेख गरेको छ।
दबाब पत्रमा प्रमुख आयुक्त राईको काम राजनीतिक रूपमा पक्षपाती रहेको र उनी वाइडबडी घोटाला लगायतका विवादमा मुछिएको आरोप लगाइएको छ। साथै, विशेष अदालतले समेत अख्तियारको कार्यप्रणालीमाथि प्रश्न उठाएका कारण आयोगको नेतृत्वले जनविश्वास गुमाएको टिप्पणी गरिएको छ।
‘भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा तपाईंको नेतृत्वमा निष्पक्षता सम्भव छैन,’ भन्दै अलायन्सले राईसहित सम्पूर्ण आयुक्तलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन आग्रह गरेको छ।
३९ जिल्लाका १२ वटा समूहका प्रतिनिधिहरूको हस्ताक्षर सहित यो निवेदन बुझाइएको अलायन्सले जनाएको छ। जेनजी युवाहरूले तत्कालीन प्रधानमन्त्री ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति खारेज हुनुपर्ने मागलाई आफ्नो आन्दोलनको मुख्य एजेन्डा बनाउँदै आएका छन्।
