वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाका कारण देशैभर बाढीपहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले पीडितहरूलाई आवश्यक राहत र क्षतिपूर्तिका साथै क्षतिग्रस्त संरचनाहरू तुरुन्त निर्माण गर्न माग गरेका छन्।
बाराको विश्रामपुर गाउँपालिकाको बरैनियामा आज आयोजित आजपाको विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै अध्यक्ष साहले यो माग उठाएका हुन्। उनले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको खोजी कार्य तीव्र बनाउन र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
अध्यक्ष साहले बाढीपहिरोले देशैभर पहाडदेखि तराई–मधेशसम्मका नागरिक पीडित भएको उल्लेख गरे।
अध्यक्ष साहले सडक लगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरे। विशेषगरी तराई–मधेशका जनता बाढी, डुबान र नदीको कटानबाट बढी पीडित भएकाले उनीहरूलाई राहत र पुनर्बास को व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ। साथै, बाली भित्र्याउने बेलामा किसानले ठूलो क्षति व्यहोर्नुपरेकाले किसानलाई पनि राहत एवं क्षतिपूर्ति दिनुपर्ने माग उनले गरेका छन्।