जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा दुई समुदायबीच उत्पन्न विवाद समाधान भएको छ।
असोज १७ गते दुर्गा माताको मूर्ति विसर्जन गर्ने क्रममा भएको झडप र तनावपछि जिल्ला प्रशासन कार्यालयको पहलमा दुई समुदायबीच सामाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको हो। विवादका कारण स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको थियो।
जिल्ला प्रशासन कार्यालयको पहलमा आज बसेको सर्वपक्षीय बैठकमा दुवै धार्मिक समुदायका अगुवाहरू, राजनीतिक दलका प्रतिनिधिहरू र सुरक्षा संस्थाका प्रमुखहरू सहभागी थिए। बैठकले गरेको महत्त्वपूर्ण निर्णयअनुसार, झडप तथा अराजक घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायलाई पूर्ण सहयोग गरिनेछ।
बैठकले देवपुरा रुपैठाको तेलिया पोखरी विवाद व्यवस्थापन का सम्बन्धमा यसअघि मिति २०८२ भदौ १६ र २०७८ कार्तिक २९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएका निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति पनि गरेको छ।
अन्तमा, देवपुरा रुपैठा क्षेत्रमा धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्न सबै राजनीतिक दल र धार्मिक समुदायले सक्रिय पहल गर्ने र भविष्यमा कुनै पनि व्यक्ति वा समूहले सद्भावमा खलल पुग्ने गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।