वीरगन्ज । निर्वाचन आयोग फागुन २१ गते हुने निर्वाचनका लागि कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारीमा जुटेको छ।
कार्यक्रम तालिकाको खाका तयार भइसकेको र पदाधिकारीहरूको बैठकपछि तत्कालै सार्वजनिक हुने आयोग स्रोतले जनाएको छ।
आयोगले निर्वाचनमा भाग लिने दलहरूको हकमा नयाँ समयसीमा तोक्ने तयारी गरेको छ। आयोग स्रोतका अनुसार, नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोकिनेछ। त्यसपछि दर्ता हुने दलहरूले फागुन २१ गतेको निर्वाचनमा भाग लिन पाउने छैनन्।
यसपछि आयोगले निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ताको आह्वान गर्नेछ। त्यसका लागि मंसिर १० गतेको हाराहारीमा समय तोक्ने तयारी छ।
उम्मेदवारहरूको मनोनयन दर्ताका लागि आयोगले करिब डेढ महिनाको समय राखेर छलफल अघि बढाएको छ। यसअनुसार, माघको पहिलो साताभित्र उम्मेदवारहरूले मनोनयन दर्ता गर्नुपर्नेछ।
तर, मनोनयन दर्तापछि हुने प्रचारप्रसार अवधिमा भने आयोगले कडाइ गर्ने भएको छ। विगतका निर्वाचनमा लामो प्रचारप्रसार अवधिले खर्चिलो र बेथिति बढेको गुनासो आएपछि आयोगले यसलाई साँघुरो बनाउने तयारी गरेको हो।
आयोगमा भएको छलफलअनुसार उम्मेदवारहरूले भौतिक रूपमा प्रचारप्रसारका लागि करिब १५ दिनको मात्र समय पाउने गरी अवधि तोकिनेछ। यसको अर्थ, फागुन ६ गतेभन्दा अघि उम्मेदवारहरूले भौतिक रूपमा सभा सम्मेलन, प्रचारप्रसार र कोणसभा गर्न पाउने छैनन्।
आयोगको बैठकबाट निर्वाचन कार्यक्रम तालिका तयार भएपछि मंगलबार बृहत छलफल गरिने तयारी छ। प्रधानमन्त्रीको उपस्थितिमा आयोगका पदाधिकारी, सबै मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, मुख्यसचिवसहितका सचिवहरू सम्मिलित बैठकमा निर्वाचन तयारीबारे योजना बनाइनेछ।