ट्रेन्डिङ

जनमत पार्टीद्वारा ‘जेनजी जनमत संघ’ गठन, ‘नौलो गणतन्त्र’ मार्फत कार्यकारी प्रमुखको माग

वीरगन्ज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले युवाहरूलाई आफ्नो पक्षमा ध्रुवीकृत गर्न ‘जेनजी जनमत संघ’ गठन गरेको छ।

जनमत पार्टी नै जेनजीको पार्टी भएको दाबी गर्दै राउतले युवाहरूले अहिले उठाएका मुद्दाहरू आफूहरूले विगतदेखि नै उठाउँदै आएको स्पष्ट पारेका छन्। अहिलेको समस्या समाधानका लागि ‘नौलो गणतन्त्रको विकास, समस्याको निकास’ भन्ने नारा जनमत पार्टीले अघि सारेको छ।

राउतले नौलो गणतन्त्र अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री को व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्। यसबाहेक, उनले निर्वाचन प्रणालीमा सुधार गर्दै ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’को व्यवस्था, साथै विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानको अधिकार दिनुपर्ने माग गरेका छन् । जेनजी युवालाई लक्षित गर्दै ३० हजार युवालाई प्रदेश प्रहरीमा भर्ना, डिजिटल नेपाल र रोजगारीको व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ।

पार्टीले शासन प्रणालीमा सुधारका लागि प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने, मन्त्रालयमा विज्ञहरूलाई नियुक्ति दिने, सांसद मन्त्री नबन्ने तथा संसदमा ह्विप नलाग्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ। उनले न्यायपालिकामा पनि पार्टी भागबन्डामा नभई न्यायाधीशहरू निर्वाचित हुने प्रणाली ल्याउनुपर्ने बताएका छन् ।

संवैधानिक निकायका प्रमुखहरू, जस्तै निर्वाचन आयोग र अख्तियारका प्रमुखहरू समेत प्रत्यक्ष निर्वाचित हुनुपर्ने तथा कर्मचारीतन्त्रको भ्रष्टाचार र ढिलासुस्ती हटाउन निजी क्षेत्रको जस्तै ‘हायर एण्ड फायर’ नीति अपनाउनुपर्ने राउतको भनाइ छ। पार्टी, नेताको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्त गर्न तथा भ्रष्टाचार, अनियमितताको छानबिन गर्न ट्राइब्यूनल गठन गर्ने लगायतका विभिन्न सुधारका एजेन्डाहरू जनमत पार्टीले अघि सारेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै