ट्रेन्डिङ

कांग्रेस केन्द्रीय समितिअघि नै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउने तयारी

वीरगन्ज । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको नेतृत्वलाई चुनौती दिँदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन तीव्र पारिएको छ।

देउवाले असोज २६ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका बेला असन्तुष्ट इतर पक्षले उक्त बैठकअघि नै हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

जेनजी आन्दोलनपछि देउवाको नेतृत्वमा पार्टी चल्न नसक्ने निष्कर्षमा पुगेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर पक्षका नेता डा. शेखर कोइराला विशेष महाधिवेशनमार्फत तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा उभिएका छन्।

असोज ६ गते नेता कोइराला र महामन्त्री थापानिकट १०९ जना महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गरेर यो अभियान थालेका थिए। कोइराला निकट नेता गुरुराज घिमिरेले यो अभियानको अगुवाइ गरिरहेका छन्।

कांग्रेसको विधानअनुसार, विशेष महाधिवेशन बोलाउनका लागि कि त केन्द्रीय समितिले माग गर्नुपर्छ कि त महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले हस्ताक्षरसहित माग गर्नुपर्छ। केन्द्रीय समितिमा देउवाको स्पष्ट बहुमत भएकाले इतर पक्षले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्ने विकल्प रोजेको हो।

महामन्त्री थापानिकट एक नेताका अनुसार दशैंका कारण केही दिन प्रभावित भएको हस्ताक्षर संकलन कार्यलाई तीव्रता दिई केन्द्रीय समिति बैठकअघि नै बुझाउने तयारी छ। अभियानमा आवश्यक ४० प्रतिशत हस्ताक्षर संकलन भइरहेको दाबी इतर पक्षका नेताहरूको छ।

देउवालाई हटाउन आफ्नै पक्षका नेताहरूले हस्ताक्षर अभियान चलाएपछि महामन्त्री थापा र नेता कोइरालाबीचको सम्बन्धमा सुधार आएको र उनीहरू निरन्तर संवादमा रहेको बताइएको छ। संस्थापन पक्ष भने विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशनको पक्षमा रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै