वीरगन्ज । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले पारेको क्षतिको समीक्षा तथा आगामी कार्यदिशा तय गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी परिषद्को बैठक बोलाएकी हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिएअनुसार, यो परिषद् बैठकले विपद् पीडितका लागि राहतका कार्यहरूलाई प्रभावकारी बनाउने, बाढी–पहिरोले क्षति पुर्याएका संरचनाहरूको पुनर्निर्माण र पीडित परिवारका लागि अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गर्नेछ।
भट्टले देशमा बाढी र पहिरोका कारण हालसम्म ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता रहेको र २४ जना घाइतेको उपचार भइरहेको जानकारी दिएका छन्। उनले घाइतेहरूको उपचार प्रशासन कार्यालयको समन्वयमा निःशुल्क भइरहेको र पीडित परिवारलाई खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको व्यवस्थापन भइरहेको पनि बताए।
केही स्थानमा खोज तथा उद्धार कार्यहरू जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन भने अझै बाँकी रहेको कार्यकारी प्रमुख भट्टले उल्लेख गरे।