वीरगन्ज । अविरल वर्षा र बाढीका कारण घरबारविहीन भएका पर्सा जिल्लाका बाढीपीडितहरूका लागि आजदेखि पोसिलो खाना वितरण गर्ने कार्य सुरु गरिएको छ ।
यस पहलअन्तर्गत पीडितहरूलाई बिहान र बेलुकी दुई छाक खाना उपलब्ध गराइनेछ ।
यो मानवीय कार्य जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग वाणिज्य संघ पर्साका सभापति हरि गौतम र नेपाल रेडक्रस सोसाइटी वीरगन्जका सभापति बृजकिशोर पटेल लगायतको सहयोगमा सुरु भएको हो ।
नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले जानकारी दिएअनुसार, विगत दुई दिनदेखि परेको अविरल वर्षाले घरबारविहीन बनाएका परिवारहरूलाई लक्षित गरी यो अभियान थालिएको हो । आज पहिलो दिन २५० जनाका लागि खाना तयार गरी वितरण गरिएको छ ।
अध्यक्ष चौगाईले बाढीपीडितहरूको राहतका लागि आवश्यकता परेमा यो अभियानलाई अझ व्यापक बनाउन तयारी गरिएको बताए । उनका अनुसार, समाजका स्वयंसेवकहरू निरन्तर प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण र सहयोग कार्यमा संलग्न छन् ।