ट्रेन्डिङ

पर्सामा अविरल वर्षाका कारण १३ घरपरिवारका ६३ सदस्य विस्थापित

वीरगन्ज । असोज १७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न बस्तीहरूमा पानी पसेपछि १३ घरधुरीका ६३ जना नागरिकहरू विस्थापित भएका छन् ।

जिल्लाका विभिन्न प्रहरी इकाईहरूले विस्थापित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । प्रहरीका अनुसार, सबैभन्दा बढी विस्थापन वीरगञ्ज महानगरपालिका–११ का बस्तीहरूबाट भएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर मातहतको क्षेत्रमा पर्ने वडा नं. ११ को डोमबस्तीबाट ६ घरपरिवारका २५ जना विस्थापित भएका छन् । उनीहरूलाई भुवनेश्वरनाथ धर्मशालामा सारिएको छ ।

सोही वडाको चमारटोली/डोमबस्तीबाट ३ घरपरिवारका १३ जनालाई सुरक्षित गरी भुुत बङ्गलामा राखिएको छ ।

इलाका प्रहरी कार्यालय लंगडीको क्षेत्रमा पर्ने धोबिनी गाउँपालिका–५, लंगडीबाट १ घरपरिवारका २ जनालाई छिमेकीको घरमा सारिएको छ ।

प्रहरी चौकी पाण्डेपुरको क्षेत्रमा पर्ने जगरनाथपुर गाउँपालिका–३, खल्चिडीबाट १ घरपरिवारका ५ जनालाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बिजबनिमा स्थानान्तरण गरिएको छ ।

प्रहरी चौकी डोकैलाको क्षेत्रमा पर्ने बहुदरमाई नगरपालिका–५, बलिरपुर टोलबाट १ घरका १४ जना विस्थापित भएका छन् । उनीहरूलाई सोही टोलमा आफ्नै काकाको घरमा सारिएको छ ।

अविरल वर्षाका कारण डुबान र घर भत्किने जोखिममा परेका रौतहट घर भई हाल पर्साको वीरगञ्जमा बसोबास गर्ने एक परिवारका चार सदस्यलाई प्रहरी टोलीले सकुशल उद्धार गरेको छ ।

यसैगरी वीरगन्ज महानगरपालिका–१६, भुटनदेवी मन्दिर नजिक बस्ने दीपक श्रीवास्तवको घरको वरिपरि अविरल वर्षाका कारण ढल तथा सडकको पानी जम्मा भएर करीब ७ देखि ८ फिटसम्म पुगेको थियो । पानीको उच्च बहाव र घर भासिने/भत्किने सम्भावना बढेपछि प्रहरी टोली उद्धारमा खटिएको थियो ।

इलाका प्रहरी कार्यालय नगवा र ताल्कुल वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले दीपक श्रीवास्तवको परिवारका चार जना सदस्यलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । उनीहरूलाई तत्कालका लागि नजिकै बस्ने छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै