वीरगन्ज । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण सिर्जित विपद्मा सरकारको उच्च सतर्कताले गर्दा मानवीय क्षति न्यून गर्न सकिएको बताएका छन् ।
पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री घिसिङले बाढीका कारण कुनै पनि मानवीय क्षति नभएको दाबी गरे ।
उनका अनुसार, इलाम जिल्लामा मात्रै पहिरोमा परेर मानवीय क्षति भएको छ । इलाममा ३५१ मिलिमिटर वर्षासहितको अतिवृष्टि भएको कारण पहिरोमा परेर मानवीय क्षति भएको उल्लेख गर्दै उनले सो बाहेक अन्य क्षेत्रमा ठूलो क्षति हुन नपाएको बताए । मन्त्री घिसिङले भने, ‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन । इलाममा अतिवृष्टि भएकोले पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन ।’
मन्त्री घिसिङले बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा पुगेको भौतिक क्षतिलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने बताएका छन् । उनले काठमाडौंबाट पश्चिमको तर्फका सडकहरू तत्कालै खोल्न सरकार अघि बढेको जानकारी दिए ।
पूर्वतर्फ वर्षा अझै जारी रहे पनि भोलिसम्ममा कम हुने अनुमान रहेको मन्त्री घिसिङले बताए ।