ट्रेन्डिङ

अविरल वर्षाले महोत्तरी जलमग्न, सदरमुकाम जलेश्वरसहित दर्जनौं बस्ती डुबानमा

महोत्तरी । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण महोत्तरी जिल्लाका विभिन्न क्षेत्रहरू गम्भीर रूपमा जलमग्न भएका छन् ।

यस विपत्तिले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, औरही, बलवा, महोत्तरी, बर्दिबास, सम्सी, र लोहरपटी नगरपालिका र गाउँपालिकाहरू प्रभावित बनेका छन् ।

सदरमुकाम जलेश्वर नगरपालिका भित्रका जलेश्वर अस्पताल, निर्वाचन कार्यालय महोत्तरी, जलेश्वर कारागार, महादेव मन्दिर, नगरपालिकाको कार्यालय र साहुजी पटी लगायतका बस्तीहरूमा पानी पसेर डुबानमा परेका छन् । मटिहानी नगरपालिकाको वडा नं. १, ६, ८ र ९ पूर्णरूपमा प्रभावित भएका छन् भने सिमरदही टोलको बस्ती नै डुबानमा परेको छ ।

त्यस्तै बलवा नगरपालिकामा तीन फिटसम्म पानी जमेको छ भने पिपरा गाउँपालिकामा पानी पसेर जनकपुरधाम–जलेश्वर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाका मुख्य नदीहरू विगही, औरही, कुटमेश्वरी र रातुमा पानीको स्तर तीव्र रूपमा बढेका कारण आसपासका वस्तीहरू डुबानको चपेटामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार, डुबानग्रस्त क्षेत्रहरूमा उद्धार टोली परिचालन गरिएको छ । उनले हालसम्म मानवीय क्षति नभएको जानकारी दिँदै कुनै ठूलो क्षति हुन नदिनका लागि आफू स्वयं स्थलगत निरीक्षणमा रहेको बताएका छन् । प्रशासनले थप जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै