ट्रेन्डिङ

सर्लाहीका दर्जनौं बस्ती डुबानमा, सीडीओसहितको टोलीद्वारा जोखिम क्षेत्रको अनुगमन

सर्लाही । अविरल वर्षाले सर्लाही जिल्लाभरि ठूलो क्षति पुर्‍याएको छ, जसका कारण जिल्लाका विभिन्न भाग र सदरमुकामसमेत जलमग्न भएका छन् ।

लखन्देही, सोती, टिकुलिया र मनुष्मारा खोलामा आएको बाढीले बाँध कटान गर्न थालेपछि जोखिम उच्च बनेको छ ।

बाढीको जोखिम बढेसँगै आइतबार बिहान प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसीबहादुर श्रेष्ठ सहितको टोलीले लखन्देही खोलाले बाँध कटान गर्न थालेको कौडेना गाउँपालिका–७, शिवनगर क्षेत्रको अनुगमन गरेको छ । लखन्देही खोलाले यहाँ निरन्तर बाँध कटान गर्दै आएकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

स्थानीयको भनाइअनुसार, भारतीय पक्षले उचाइमा सडक निर्माण गरेका कारण पानीको निकास अवरुद्ध हुँदा सदरमुकाम मलङ्गवा डुबानमा परेको छ । मलङ्गवाको मुख्य नाका, प्रहरी चौकी गोरखकाली, भन्सार कार्यालय र आसपासका दर्जनौँ घरमा पानी पसेको छ ।

यसैगरी, बरहथवा नगरपालिका–७ मा सोती खोलाको पानी पस्दा १० घरका बासिन्दालाई टहरामा सारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिए । डीएसपी राईका अनुसार, डुबानमा परेपछि बसबरिया गाउँपालिका–२, धावटोलका ५५ वर्षीय रामसुरत सहनी र ५० वर्षीया सुनिता सहनीको उद्धारको तयारी भइरहेको छ ।

मनुष्मारा खोलाले धनकौल गाउँपालिका–३, हरहठवा र ४, महिनाथपुर हुँदै रौतहटको धरमपुरलाई जोड्ने करिब दुई किलोमिटर सडक कटान गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । बरहथवा नगरपालिका–१६ मा टिकुलिया खोलाको बहाव बढेपछि पासवान र यादव बस्ती जोखिममा परेका छन् ।

लखन्देही खोलाको बाढी कौडेना गाउँपालिकाका वडा नं. ३, ५ र ६ (छपकैया र सक्रौल)मा बाँध कटान गर्दै पस्दा १० भन्दा बढी घर डुबानमा परेका छन् । चक्रघट्टा गाउँपालिका–५ मा पनि लखन्देहीको बाढी पसेर १७ घरधुरी र इलाका प्रहरी कार्यालय चक्रघट्टा जलमग्न भएका छन् । झिम खोलाले ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरमा बाँध कटान गरेर जोखिम बढाएको छ ।

हरिवन नगरपालिका–११, चिनमी मिल आसपासमा पानी निकास नपाउँदा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीयले बताएका छन् ।

निरन्तरको वर्षापछि चन्द्रनगर गाउँपालिका–५ मा प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको छ भने गोडैता चौकीको पर्खालमा पनि क्षति पुगेको छ । कविलासी नगरपालिका–८, अगर्वामा पानी पस्दा १४ घर डुबानमा परेका छन् ।

यसैगरी, कविलासी–२, पिपरियामा घरको पर्खाल भत्किँदा ९ वर्षीया शिवानी सिंह घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानबाट वर्षा रोकिए पनि, बिजुली आपूर्ति अनियमित भएको र मोबाइल नेटवर्क अवरुद्ध हुँदा स्थानीयहरू समस्यामा परेका छन् । काठमाडौंतर्फका सवारी साधन सञ्चालन नहुँदा यात्रुहरू रोकिएका छन् भने स्थानीय रुटका सवारीहरू भने सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै