जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अविरल वर्षा र बाढीले सिर्जना गरेको विषम परिस्थितिमा नागरिकको सुरक्षाका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्थानीय तहहरूलाई विपद्को सामना गर्न थप सक्रियता देखाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहले सुरक्षा निकायहरू उद्धार र राहत कार्यमा दिनरात खटिएको र उनीहरूको अहोरात्र समर्पण उच्च प्रशंसनीय रहेको उल्लेख गरेका छन् । प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक आफ्नो कार्यक्षेत्रमा सेवा प्रवाह गर्न अनुरोध गरेका छन् ।
मुख्यमन्त्री सिंहले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेको बताउँदै प्रदेश सरकारले नागरिक बीमा र घरधुरी बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाएको जानकारी दिएका छन् ।
बीमा रकम समयमै वितरणका लागि आवश्यक कागजात व्यवस्थापनमा सहयोग पुर्याउन उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा पालिकाका प्रमुखहरुलाई विशेष अनुरोध गरेका छन् ।
विज्ञप्तिमा, प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र स्थानीय प्रशासनहरू उच्च सतर्कता, तयारी, उद्धार र राहतका कार्यमा पूर्ण रूपमा क्रियाशील रहेको उल्लेख गरिएको छ । मुख्यमन्त्री सिंहले यो कठिन घडीमा प्रदेश सरकार नागरिकका साथमा रहेको आश्वासन दिँदै, एक अर्काको सहयोग र एकताको भावना नै विपद् पार गर्ने सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् ।