ट्रेन्डिङ

रौतहटमा बाढीको वितण्डा : सदरमुकाम गौर जलमग्न, चट्याङले ३ जनाको मृत्यु

रौतहट । लगातारको भारी वर्षाका कारण रौतहट जिल्लाको अवस्था गम्भीर बनेको छ ।

सदरमुकाम गौर जलमग्न हुनुका साथै नदीहरूमा जलस्तर बढेको छ भने चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

पूर्वमा बागमती नदी, पश्चिममा लालबकैया नदी र दक्षिणतर्फको भारतीय बाँधका कारण गौर बजार हरेक वर्षझैँ यस पटक पनि गम्भीर डुबानमा परेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्ला अदालत, मालपोत कार्यालय, गौर भन्सार, कर कार्यालय र जिल्ला प्रशासन कार्यालय जाने मुख्य सडकसहित सरकारी कार्यालयका परिसर तथा आवासीय बस्तीहरूमा घुँडासम्म पानी भरिएको छ । निरन्तर वर्षा भइरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दाहरू बाढीको उच्च जोखिममा छन् ।

बागमतीको जलवहाव बढ्दा ३६ वटै ढोका खुल्ला
रौतहट र सर्लाहीको बीच भाग भएर बग्ने बागमती नदीमा जलवहाव अत्यधिक बढेपछि नदीमा निर्मित सिँचाइ आयोजनाको ३६ वटै ढोका खुल्ला गरिएको छ । अविरल वर्षाका कारण हिजो साँझदेखि नै बाँधका सबै ढोका खोलिएको बागमती सिँचाइ आयोजनाले जनाएको छ ।

यसैबीच, बागमती नदीको पानी माधवनरायण नगरपालिकाअन्तर्गत फुलवरिया घाटतिर पसेको छ । साथै, रौतहटको परोहा नगरपालिका–४, पोखरीया गाउँको बाँध बाढीले तोडेको छ ।

चट्याङले लियो तीन जनाको ज्यान
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार, जिल्लामा चट्याङका कारण तीन जनाको मृत्यु भएको छ ।

ईशनाथ नगरपालिका–८, मनसरीका अन्दाजी ४५ वर्षीय सेख जमरूल भन्ने नन्काको चट्याङको आवाजले हृदयघात भएर मृत्यु भएको स्थानीयले जनाएका छन् ।

कटहरिया नगरपालिका–२, हथियायी बस्ने अन्दाजी १६ वर्षीय शेराज लहरी र नविन यादवको शनिवार चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

प्रशासनले जोखिमयुक्त बस्तीहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै