जनकपुरधाम । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि सुनसरी प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
शनिवार साँझबाट बढ्न थालेको पानीको बहाव अहिले खतराको तहभन्दा धेरै माथि पुगेको सुनसरी प्रहरीले पुष्टि गरेको छ ।
कोशी ब्यारेजमा गरिएको मापनअनुसार, अहिले सप्तकोशी नदीमा प्रति सेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पानी बगिरहेको छ । पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
बढ्दो जलस्तरका कारण सम्भावित क्षतिबाट जोगिनका लागि कोशी ब्यारेजका सबै ५६ वटा ढोकाहरू खोलिएको छ । यसैबीच, सुरक्षाको कारण देखाउँदै अहिले ब्यारेज हुँदै पूर्व-पश्चिम राजमार्गमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
गत वर्षको असोज महिनामा पनि सप्तकोशीमा पानीको बहाव अत्यधिक पुगेको थियो, जुन ५ लाख ५७ हजार क्युसेकसम्म पुगेको थियो । यस वर्ष पनि जलस्तर सोही दिशामा बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।