ट्रेन्डिङ

पर्साको डुबान क्षेत्रबाट सयौँलाई सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

वीरगन्ज । अविरल वर्षा र बाढीले पर्सा जिल्लामा निम्त्याएको संकटका बेला सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले प्रशंसनीय उद्धार तथा राहत कार्य गरेको छ ।

सशस्त्र प्रहरीले कारागारको व्यवस्थापनदेखि लिएर डुबानमा परेका स्थानीय नागरिक, बिरामी र ठूलो संख्यामा पशु चौपायालाई समेत सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

हिजो परेको अविरल वर्षाका कारण वीरगन्जस्थित कारागार कार्यालयको बन्दी सुधार गृहमा पानी जमेपछि असहज बनेको वातावरणलाई सशस्त्र प्रहरी टोलीले मोटर प्रयोग गरी पानी फालेर तत्काल सहज बनाएको थियो ।

यसैगरी, आज सशस्त्र प्रहरीको उद्धार टोलीले वीरगन्ज –१६, भुटनदेवी मन्दिर नजिक डुबान र घर भत्किने जोखिममा रहेका दीपक श्रीवास्तवको ४ जनाको परिवारलाई सकुशल छिमेकीको घरमा स्थानान्तरण गरेको छ । साथै, वीरगन्ज–१३, राधेमाईकी रिज्वान खातुनलाई ज्वरो आएको र डुबानका कारण अस्पताल जान नसकेको अवस्थामा १६ जनाको टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । वीरगन्ज–११, विद्यापति नगर बस्ने ७ जनाको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

यसका अतिरिक्त, पोखरिया नगरपालिका–२, लमरियामा डुबानमा परेका १५–२० जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी आफन्तको घरमा सुरक्षित साथ स्थानान्तरण गरेको छ ।

अविरल वर्षाले गर्दा सिरिसिया खोलामा पानीको बहाव बढेपछि हिजो वीरगन्ज–२४, रामगढवास्थित वीरगन्ज गौशाला गाई फर्ममा करिब ३ फिटसम्म पानी पसेको थियो । गणबाट खटिएको १७ जनाको उद्धार टोलीले पानीभित्र फसेका १३२ वटा गाईहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

यसैबीच, जिल्लाको बिन्दवासिनी गाउँपालिका–२, गर्दौलस्थित वीरगन्ज–पोखरिया सडक खण्डमा रुख ढलेर बाटो अवरुद्ध भएकोमा सुरक्षा बेश बहुअर्वाभाठ्ठाबाट खटिएको टोलीले रुख पन्छ्याई बाटो सुचारु गराएको थियो ।

सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार विपद्को यस घडीमा उद्धार टोलीहरूले नागरिकको सुरक्षा र सम्पत्तिको संरक्षणका लागि उच्च तत्परताका साथ काम गरिरहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै