ट्रेन्डिङ

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

जनकपुरधाम । पूर्वी नेपालको इलाम जिल्लामा आएको भीषण बाढी र पहिरोले गर्दा ठूलो जनधनको क्षति भएको छ ।

विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस विपद्ले विशेषगरी इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकालाई नराम्रोसँग प्रभावित पारेको छ ।

इलाम नगरपालिका–६, घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरेको थियो । त्यसैगरी, सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङ्गमा राजु क्षेत्रीको घर पहिरोमा पर्दा ५ जनाको ज्यान गएको छ । घटनास्थलबाट ४ जनाको शव निकालिएको र १ जना घाइतेको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यसै क्रममा, देउमाई नगरपालिका–५, घुसेनीमा दीपक लिम्बुको घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । सो ठाउँबाट १ जनालाई भने सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ । यसका साथै, माङसेबुङ गाउँपालिका–५, पार्टीगाउँमा पनि मदन लिम्बुको घर पुरिएर ३ जनाको निधन भएको छ । फाकफोकथुम गाउँपालिका–३, रातोमाटेका ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको खबर प्रहरीले पुष्टि गरेको छ । स्थानीय प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रभावित क्षेत्रहरूमा उद्धार तथा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै