रौतहट । अविरल वर्षाका कारण रौतहटमा बागमती र लालबकैया नदीहरूमा पानीको सतह तीव्र गतिमा बढेसँगै जिल्लाका नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम उच्च भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अति भारी वर्षाको चेतावनीपछि जिल्लामा उद्धार र सतर्कताको तयारी तीव्र पारिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटका प्रमुख एसपी राम हरी अधिकारीका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशनमा बाढीको उच्च जोखिम रहेका बस्तीहरूमा अग्रिम कारबाही सुरु गरिएको छ।
‘बाढीको जोखिम अत्यधिक भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सचेत रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौं,’ एसपी अधिकारीले भन्नुभयो।
पूर्व तयारीस्वरूप, असोज १७ गते नै वृन्दावन नगरपालिका–१ को भोटियाघाट क्षेत्रमा रहेको बागमती नदी किनारका १२८ घरधुरीमध्ये १०१ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।
सशस्त्र प्रहरी बलका मातहतका सन्तपुर, दुधियाभार, बिजयपुर र समनपुर बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीहरूमा माइकिङ अभियान सञ्चालन गरिरहेका छन्।
बाढीको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह र बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक तयारी पूरा गरिएको छ। उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू २४ सै घण्टा तयारी अवस्थामा राखिएको एसपी अधिकारीले जानकारी दिए ।
उच्च जोखिम क्षेत्रहरूको रूपमा बागमती र लालबकैया नदी आसपासका भोटियाघाट, कटहरिया, मौलापुर, राजपुर, गुजरा, इशनाथ, देवाही गोनाही र गरुडा क्षेत्रहरू पहिचान गरिएका छन्। यस वर्ष सशस्त्र प्रहरी र स्थानीय प्रशासनले गरेको अग्रिम तयारीले सम्भावित मानवीय क्षति न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।