वीरगन्ज । गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित बनेको छ। ठाउँ–ठाउँमा पहिरो खस्दा र सडकमा जोखिम बढ्दा सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले थप सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित नेपाल सरकारका विभिन्न निकायहरूले सबैलाई आफू रहेको स्थानमा सुरक्षित रहन र अत्यावश्यकबाहेक हिँडडुल नगर्न अनुरोध गरिरहेका छन्। प्रहरीले समेत विभिन्न स्थानमा पेट्रोलिङ र माइकिङ गरी सर्वसाधारणलाई सचेत गराइरहेको छ।
अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार, यस वर्षाले सडक पूर्वाधारमा सबैभन्दा धेरै क्षति पुर्याएको छ। आगामी केही दिनसम्म पनि यस्तै वर्षा जारी रहने मौसम पूर्वानुमान भएकाले यात्रामा जानबाट पूर्णरूपमा जोगिन भनिएको छ।
प्रमुख राजमार्गहरूको अवस्था
नागढुंगा–मुग्लिन र पृथ्वी राजमार्ग : धादिङको बेनिघाट–रोराङ गाउँपालिका–१०, जवाङखोलामा पहिरो खस्दा यो खण्ड पूर्णरूपमा अवरुद्ध छ।
मुग्लिन–नारायणगढ सडकखण्ड : पहिरो नखसे पनि यात्रामा उच्च जोखिम रहेकाले यस सडकखण्डमा गाडी चलाउन स्थानीय प्रशासनले पूर्ण रोक लगाएको छ। मुग्लिनतर्फ जाने सवारीहरूलाई नारायणगढ, भरतपुरलगायत सुरक्षित स्थानमा रोकिएको छ।
मुग्लिन–पोखरा सडक : पहिरो नभए पनि जोखिमका कारण मुग्लिनदेखि पोखरासम्मको बाटोमा लामो दूरीका सवारी साधनलाई चलाउन रोक लगाइएको छ। गाडीहरू कोत्रे, दमौली, डुम्रे, मुग्लिनजस्ता सुरक्षित ठाउँमा रोकिएका छन्।
बीपी राजमार्ग : पहिले नै गरिएको निर्णयअनुसार, १६ असोजदेखि २१ गतेसम्म दैनिक साँझ ५ बजेबाट बिहान ५ बजेसम्म यस राजमार्गमा सवारी आवागमन पूर्ण बन्द छ।
अरनिको राजमार्ग : सिन्धुपाल्चोकको चारकिलो ९भोटकोशी० क्षेत्रमा सडक भासिएर पूर्ण बन्द भएको छ। १७ गते आंशिक खुले पनि १८ गते बिहान थप क्षति पुगेपछि फेरि रोकिएको हो।
पासाङ ल्हामु राजमार्ग : मितेरी पुल असार २४ गतेदेखि नै क्षतिग्रस्त छ। घट्टेखोला, बालुवाखानि र तातोपानी खण्डमा पनि १६ असोजदेखि पहिरो र ढुङ्गा खस्दा बाटो निरन्तर बन्द छ।
कोशी राजमार्ग : भोटखोला–बरुणखोलामा गत जेठदेखि नै बाढीले क्षति पुर्याउँदा सडक अवरुद्ध छ भने मकालु–एकुवा खण्ड १५ भदौदेखि पहिरोले पूर्ण बन्द छ।
आँबुखैरेनी–गोरखा सडकखण्ड र डुम्रे–लमजुङ सडकखण्ड अहिले खुला रहेका छन्।
सरकारले अत्यावश्यक यात्रा बाहेकका सबैलाई मौसममा सुधार नआएसम्म घरमै सुरक्षित रहन बारम्बार अनुरोध गरिरहेको छ।