वीरगन्ज । मुलुकभर मौसम बिग्रिएपछि राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण दृश्य क्षमता(भिजिबिलिटी) कम हुँदा हवाई उडान तथा अवतरण अनिश्चित बनेको हो।
आन्तरिक टर्मिनलमा अहिले उडानको प्रतीक्षामा रहेका यात्रुहरूको ठूलो भिड लागेको छ। उडान कहिले सुरु हुने भन्ने निश्चित नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ। कतिपय वायुसेवा कम्पनीहरूले यात्रुहरूको टिकट रद्द गर्ने प्रक्रियासमेत सुरु गरिसकेका छन्, जसले गर्दा तत्काल यात्रा गर्ने योजना बनाएकाहरू थप मारमा परेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म वर्षा भइरहेको छ र यो वर्षाको मात्रा तथा क्षेत्र अझै बढ्ने सम्भावना छ। केही प्रदेशहरूमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन र सुरक्षित रहन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।