जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, देवपुरा रुपैठा क्षेत्रमा फेरि दुई समुदायबीचको विवादले उग्र रूप लिएको छ, जसका कारण स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपरेको छ।
दशैंको समापनपछि दुर्गादेवीको मूर्ति सेलाउन (विसर्जन) लैजाने क्रममा झडप सुरु भएको थियो। एक समुदायले अर्को समुदायमाथि ढुङ्गामुढा गरेपछि स्थिति बिग्रिएको थियो। आक्रोशित भीडले तेलिया पोखरीको डिलमा बनाइएको एउटा टहरामा आगजनी गरेका थिए।
घटनाको थप क्षति हुन नदिन र भीड नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव यादवका अनुसार, भीडलाई नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो। झडपका क्रममा दुवैतर्फबाट भएको ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय बासिन्दा घाइते भएका छन्।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले तत्कालै कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शेखरहरी आचार्यको आदेशानुसार, साँझ ६:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि वडा नम्बर २० को देवपुरा रुपैठा क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) लागू गरिएको छ।
कर्फ्यू लागू भएको सीमाना:
यो क्षेत्रमा भेला, जुलुस, प्रदर्शन लगायतका कुनै पनि गतिविधि गर्न पूर्णतया रोक लगाइएको छ।