वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनलाई केन्द्रमा राखेर सङ्गठन विस्तार, सङ्घर्ष, प्रशिक्षण र निर्वाचनलाई प्राथमिकतामा राख्दै बृहत् अभियान सञ्चालन गर्ने भएको छ।
दशैं पर्व लगत्तै पार्टीका सबै गतिविधिहरू तीव्र पारिने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
पार्टीले दशैंलगत्तै प्रदेश अधिवेशन र राष्ट्रिय समितिहरूका बाँकी कार्यहरू सम्पन्न गर्ने, सम्पूर्ण संसदीय निर्वाचन क्षेत्र समन्वय समिति, बुथ समिति र बाँकी रहेका गाउँ, वडा, टोल समितिहरू गठन गर्ने कार्यलाई अगाडि बढाउने जनाएको छ।
जसपा नेपालले प्रत्येक बुथ स्तरमा स्वयंसेवक तयार गरी प्रशिक्षण दिने र परिचालन गर्ने रणनीति लिएको छ। साथै, प्रदेश र जिल्ला समितिहरूले जनपरिचालन र आधारभूत सङ्गठन निर्माण अभियान सञ्चालन गर्नेछन्।
पार्टीले आगामी निर्वाचनको तयारीसँगै संविधान संशोधन, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, पहिचान र राज्यको पुनर्संरचना जस्ता आफ्ना प्रमुख मागहरूलाई जनताको बीचमा लैजाने भएको छ। यसका अतिरिक्त, भ्रष्टाचार, गरिबी, बेरोजगारी र सामाजिक सुरक्षा जस्ता जनताका दैनिक जीवनसँग जोडिएका समस्याहरूलाई पनि जोडदार रूपमा उठाउने बस्नेतले बताएका छन्।
पार्टीले विगतमा सरकार समक्ष पेश गरेको ६७ बुँदे माग र प्रस्तावहरूलाई समेत जनता समक्ष लिएर जानेछ। जसपा नेपालले आफ्नो विचार, नीति तथा कार्यक्रमहरू स्थापित गर्न विचार गोष्ठी, कोण सभा, आमसभा र प्रदर्शन जस्ता कार्यक्रमहरू निरन्तर जारी राख्ने जनाएको छ।
जसपा नेपालले निर्वाचन केन्द्रीत कार्यहरूलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। उम्मेदवारको चयन, चुनाव प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयं सेवक परिचालन, चुनावी प्रशिक्षण र मतदाता सचेतन कार्यक्रमहरूलाई प्रदेश, जिल्ला र पालिका समितिहरूले कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने निर्देशन दिइएको छ।
पार्टीले जित्ने सम्भावना रहेका क्षेत्रहरूमा बढी ध्यान दिने र शक्ति परिचालन गर्ने गरी तथ्याङ्क सङ्कलन र विश्लेषणको कार्यलाई समेत अगाडि बढाउने जनाएको छ।