ट्रेन्डिङ

भारी वर्षाको जोखिमले मधेश प्रदेश ‘हाइ अलर्ट’मा : कुन जिल्लामा कस्तो तयारी ?

वीरगन्ज । भारतबाट विकसित भई नेपाल भित्रिन लागेको भारी वर्षाको प्रणाली र त्यसबाट उत्पन्न हुन सक्ने बाढीपहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मधेश प्रदेशका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले उच्च सतर्कता अपनाएका छन्।

जनधनको क्षति रोक्न सुरक्षा संयन्त्र, विपद् व्यवस्थापन समिति र स्थानीय तहहरूलाई ‘तयारी अवस्था’मा राखिएको छ।

पर्सा : रात्रीकालीन सवारी सञ्चालनमा कडाइ

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले आजदेखि असोज २० गतेसम्म मौसमसम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बाटोमा अलपत्र पर्नबाट जोगाउन रातिको समयमा गाडी सञ्चालनमा रोक लगाउने तयारी गरिएको छ। प्रजिअ सुवेदीले यसका लागि चितवन, मकवानपुर र धादिङका प्रजिअहरूसँग पनि समन्वय भइरहेको र छिट्टै अन्तिम समय तोकेर सूचना जारी गरिने जानकारी दिए।

सर्लाही : बाढी जोखिम क्षेत्रमा सूचना सम्प्रेषण

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलषी बहादुर श्रेष्ठले जिल्लाका जोखिमयुक्त क्षेत्रहरूमा सूचना सम्प्रेषण गरिएको बताएका छन्। उनले सुरक्षा संयन्त्रसँगको छलफलमा विपद् व्यवस्थापन टिम तयारी अवस्थामा रहेको र बाढीको उच्च जोखिम रहेको क्षेत्रमा उद्दारका लागि पूर्व तयारी अवस्थामा टिम खटाइएको जानकारी दिए।

रौतहट : हाइ अलर्ट र सुरक्षा सतर्कता

जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी मनिष झाले यस विषयमा बिहीबार नै सुरक्षा समितिको बैठक बसी छलफल गरिएको बताए। उनले रौतहटको ‘हाइ अलर्ट’ क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाइएको जानकारी दिए। साथै, जिल्ला विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा विपद् व्यवस्थापनको पूर्व तयारी गरिएको उनको भनाइ छ।

बारा : पालिका स्तरीय समिति सक्रिय

बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले विपद् व्यवस्थापनका लागि जिल्ला स्तरीय र पालिका स्तरीय समितिहरूसँगको छलफलमा यस विषयलाई गम्भीरताका साथ हेरिएको बताए। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टिम पनि विपद् व्यवस्थापनको पूर्व तयारीमा रहेको जानकारी दिए।

समग्रमा, मौसम पूर्वानुमानको चेतावनीपछि मधेश प्रदेशमा मानव जीवनको सुरक्षालाई प्राथमिकता दिँदै प्रशासनहरूले विपद् प्रतिकार्य र उद्दारका लागि आवश्यक तयारी गरिसकेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै